उदय बीसी

चैत १६, दाङ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले दाङमा मात्र रू. ४ करोड २८ लाख ५८ हजार लगानी गरेको छ । संस्थाले समुदायमा सहयोग कार्यक्रमअन्तर्गत यहाँका विभिन्न स्थानमा स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र सुशासनसँग लक्षित ७२ ओटा योजना तथा कार्यक्रममा उल्लिखित रकम लगानी गरेको संस्थाका जिल्ला संयोजक विकास चौधरीले जानकारी दिए । ‘४ वर्षको अवधिमा हामीले समुदायमा लक्षित धेरै काम गरेका छौं’, उनले भने, ‘यसले ग्रामीण क्षेत्रका गरीब समुदायलाई ठूलो सहयोग पुगेको छ ।’

उक्त कार्यक्रमअन्तर्गत आरआरएनले सन् २०१० देखि २०१४ सम्ममा दाङका विभिन्न १९ विद्यालय भवनका लागि रू. १ करोड १० लाख, पाँच स्वास्थ्य संस्थाका लागि रू. ११ लाख ४९ हजार, सरसफाइ कार्यक्रममा रू. ५ लाख २४ हजार, १० सामुदायिक भवन निर्माणका लागि रू. ४८ लाख, बाढीप्रकोप नियन्त्रणमा रू. २० लाख लगानी गरेको बताइएको छ ।

यस्तै, संस्थाले ग्रामीण क्षेत्रमा जीविकोपार्जनका लागि आयमूलक शीप प्रदान गर्नुका साथै विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको संयोजक चोधरीले बताए । ‘संस्थाले सञ्चालन गरेका सिँचाइसम्बन्धी योजनाबाट जिल्लाको ३ सय ५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ,’ उनले भने । उनले यो कार्यक्रमको अवधि सकिएकाले यसको निरन्तरताका लागि स्थानीय निकायहरूले पनि पहल लिन आवश्यक रहेको बताए ।

आइतवार दाङको घोराहीमा आयोजित आरआएनको समुदायमा सहयोग कार्यक्रमको अन्तिम समीक्षा कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सरकारका कार्य प्रक्रियामा ढिलासुस्ती हुने भएकाले निजी र गैरसरकारी संस्थाहरूले पारदर्शी तरीकाले छिटोछरितो र प्रभावकारी काम गर्नुपर्ने धारणा राखे । स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोख्रेलले आरआरएनले सञ्चालन गरेका केही कामलाई नेपाल सरकारको समेत स्वामित्व भएकाले यी कामलाई सफल पार्न राज्यका निकायहरूको पनि भूमिका महत्वपूर्ण हुने बताए ।

Source: www.abhiyan.com.np (13 March 2014)