नेपालबाट प्राप्त समाचारअनुसार विगत चार दशकदेखि वर्षायाममा भेरी नदीको धमिलो पानी पिउँदै आएका कल्याण गाविस ९, टुडेवासीलाई आकासे पानी सङ्कलन कार्यक्रम अन्तर्गत् घैंटोको सङ्लो पानी खाँदा आफूहरू धमिलो पानी पिउँनुपर्ने बाध्यताबाट मुक्त भएको बताएका छन् ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था सुर्खेतले सञ्चालन गरेको आकासे पानी सङ्कलन घैंटो कार्यक्रमबाट उक्त गाउँका स्थानीयवासीले आफूहरू लाभान्वित भएको बताएका हुन् । यस गाउँको पहिलो विकास नै घैंटो निर्माण भएको बताइएको छ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था सुर्खेतको सहयोगमा 21 घरमा प्रतिघर एउटा घैंटो निर्माण गरिएको छ । संस्थाको 90 प्रतिशत र स्थानीय लगानी 10 प्रतिशत गरी एक्काइस घैंटा निर्माण गर्दा 12 लाख 35 हजार 505 रुपियाँ खर्च भएको छ ।

आकासे पानी सङ्कलन गर्ने एउटा घैंटो बनाउँदा 58 हजार 834 रुपियाँ लागत लाग्छ । घैंटोको क्षमता छ हजार पाँच सय लिटर रहेको छ । सो घैंटो दुईघण्टामा वर्षाको पानीले भरिन्छ । घैंटो निर्माण समितिका अध्यक्ष घरबाट उकालो ओरालो गर्दै भेरी नदीबाट पानी ल्याउँदा आधा घण्टा लाग्ने गरेको जानकारी दिँदै घैंटोको पानी प्रयोग गर्दा पानी ल्याउँदा लाग्ने समयले घरधन्दाको काम भ्याउँन सजिलो भएको बताउनुहुन्छ ।

Source: https://nepal.cri.cn/281/2008/09/16/1s81554.htm (2008-09-16)