तरकारी किसान र होटेल व्यवसायीबीचको अन्तरसंवादमा सहभागी

सूर्यप्रकाश कँडेल

नारायणगढ: चितवनको विकट पहाडी गाविस कोराकमा प्रांगारिक तरकारी खेती गर्दै आएका किसान प्रांगारिक उत्पादनको बजार खोज्दै पर्यटकीय क्षेत्र सौराहा पुगेका छन्। उनीहरूले सौराहाका होटेल व्यवसायीसँग अन्तरसंवाद गरेर आफ्ना उत्पादन खरिद गर्न आग्रह गरे।

सौराहाका होटेल व्यवसायी रामकुमार अर्यालले ३० वर्षअघि भारतको बिहारबाट तरकारी ल्याएर पर्यटकको सेवा गरिएको स्मरण गर्दै अब पर्यटकलाई प्रांगारिक तरकारी खुवाउन आफूहरू तयार रहेको बताए। उनले तरकारीको आपूर्ति वर्षभरि नै गर्नुपर्ने भएकाले यसतर्फ तरकारी उत्पादक किसानले ध्यान पुर्‍याउनुपर्ने सुझाव दिए। सौराहामा सानाठूला गरी ८० भन्दा बढी होटेल सञ्‍चालनमा छन्। प्रांगारिक खेती गर्दै आएका कोराकका किसान शेरबहादुर तामाङले प्रांगारिक तरकारी खेती खर्चिलो हुने भएकाले प्रांगारिक उत्पादनको मूल्य विषादी प्रयोग गरेर उत्पादन हुने तरकारीभन्दा केही बढी पाउन सकेमात्र किसानलाई राहत पुग्‍ने बताए।

कोराककै अर्का किसान ज्योतिराम चेपाङले सुरुमा प्रांगारिक तरकारी बजारसम्म ल्याउँदा गाडीभाडा उठाउन पनि नसकेको अनुभव सुनाउँदै गाउँबाटै तरकारी उठाउने व्यवस्था भएमा किसानले फाइदा लिन सक्‍ने बताए। चितवनमा क्षेत्रीय कार्यालय रहेको ग्रामीण पुनर्निर्माण संस्थाले कोराक गाउँमा सुरु गरेको पहाडी क्षेत्रको ग्रामीण विकास तथा प्रकृति संरक्षण परियोजनाअन्तर्गत अन्तरसंवाद आयोजना गरिएको हो।

परियोजनाका कार्यक्रम संयोजक धर्म दवाडीले गाउँलेलाई आर्थिक रूपमा सम्पन्न बनाउन आयमूलक कार्यक्रमअन्तर्गत तरकारीखेती अघि बढाइएको बताए। संस्थाका निर्देशक वीरेन्द्र अधिकारीले कोराक पहाडी गाविस भएकाले त्यहाँ उत्पादित तरकारी स्वादिलो र पोसिलो हुने बताउँदै अर्गानिक उत्पादनको बजार विस्तार गर्नसके किसान र होटेल व्यवसायी दुवैलाई फाइदा पुग्ने जानकारी दिए। उनले विषादी प्रयोग गरिएको तरकारीले पर्यटकको स्वास्थ्यमा असर पार्ने भएकाले सौराहा आउने पर्यटकलाई होटेल व्यवसायीले प्रांगारिक तरकारी खुवाउने गरेमा सौराहाको चिनारी नै अर्गानिक खाना भन्ने बनाउन सकिने बताए। सौराहालाई वार्षिक कति तरकारी चाहिन्छ भन्ने निक्र्योल गरेर कोराकमा उत्पादित तरकारी आपूर्ति गर्ने लक्ष्य रहेको उनले जानकारी दिए।

कोराकमा लागू परियोजनाको सहयोगी संस्था वेल्ट हंगर हिल्फका नेपाल निर्देशक फिलिपले चितवनको पहाडी गाविसहरू शक्तिखोर, सिद्धि र कोराकमा प्रांगारिक खेतीलाई विस्तार गरिएको जानकारी दिए। उनले प्रांगारिक तरकारीको अहिलेका लागि स्थानीय बजार नै पर्याप्त रहेको बताए।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारीले प्रांगारिक कृषितर्फ सरकारले पनि जोड दिएको हुनाले किसानले कृषि कार्यालयसँग समन्वय गरेर फाइदा लिन सक्ने बताए। उनले जमिन र जनस्वास्थ्य दुवैलाई प्रांगारिक खेतीले फाइदा पुग्ने बताउँदै प्रांगारिक उत्पादनको बजार पर्याप्त भएको धारणा व्यक्त गरे।

कृषि कार्यालयले जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रमअन्तर्गत कृषक पाठशाला सञ्चालन गरी प्रांगारिक खेतीमा जोड दिँदै आएको छ। चितवनको फूलबारी गाविसमा प्रांगारिक तरकारी खेती सफलतापूर्वक हुँदै आएको छ।

कास्कीमा प्रांगारिक कफी खेती गर्दै आएका ऋषिराम अधिकारीले प्रांगारिक उत्पादनलाई प्रमाणीकरण गर्न सकेमा यस्ता उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने बताए। उनले स्थानीय बजारमा तरकारी खपत गर्न भने प्रमाणीकरण आवश्यक नरहेको तर उपभोक्ताको विश्वास जित्न आवश्यक रहेको स्पष्ट पारे। रासायनिक मल र विषादीको प्रयोग नगरिएको खेती नै प्रांगारिक खेती भएको जानकारी दिँदै उनले यस्ता उत्पादन वातावरणमैत्री र आर्थिक रूपले सबल हुनुपर्ने औंल्याए। प्रांगारिक उत्पादनको प्रमाणीकरणका लागि पहिले खेती गरिने जमिनको माटो परीक्षण र त्यसपछि उत्पादनको पनि परीक्षण आवश्यक हुने उनले बताए।

Source: https://annapost.com