श्यामकृष्ण दाहाल/उज्यालो ।

भोजपुर, चैत २८ – दियालो र टुकीको भरमा ८० बसन्त बिताईसकेकी अन्नपूर्ण ८ की विष्णुमाया बस्नेतको मनमा सोलार प्यानल थापेपछि खुशी छाएको छ ।

‘छोरा विदेशमा छ, बुहारी पनि घरमा छैन बुढाबुढी मात्र छौं बुढेसकालको सहारा पाइयो राम्रो लागेको छ,’ बृद्धा बस्नेतले खुशी हुँदै भन्नुभयो । अन्नपूर्ण गाविसका बिपन्न ३२ परिवारको घर अहिले सोलारले झलमल्ल भएको छ ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को बहुसरोकारवाला वन कार्यक्रम अन्तर्गत हिहल्र्ड नेपालले एक कार्यक्रममा रेडक्रस रानीवन र आम्लाला सामुदायिक वनका उपभोक्ताहरुलाई सोलार बाँडेको हो ।

२० वाट क्षमताको सोलार पाउनेहरुमध्ये १४ परिवार दलित छन् । वन उपभोक्ता समितिले आर्थिक रुपमा न्यून रहेका दलित, एकल महिलालाई बढि प्राथमिकतामा राखेर छनौट गरिएको रेडक्रस रानिवन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मीदेवी राईले बताउनुभयो ।

सोलार वितरण गर्ने संस्था हिहल्र्ड नेपालका अध्यक्ष शरणकुमार राईले वैकल्पिक उर्जालाई प्रबद्र्धन गर्ने उद्देश्यले अँध्यारोमा रात गुजार्नुपर्ने वाध्यताबाट मुक्त भई छोराछोरीको पढाईमासमेत सहज होस भनेर सोलार सेट बाँडिएको बताउनुभयो ।

सोलार पाएका भीमबहादुर सार्कीले घरमा सोलार वाल्न थालेपछि बच्ने मट्टीतेलको खर्च बचत गरेर घरको गर्जो टार्ने बताउनुभयो । अन्नपूर्ण २, ३, ७ र ८ नम्बर वडाका सोलार पाउने परिवारले आफ्नो घरआँगन सफा राख्ने, सँधै चर्पीमा दिसापिसाब गर्ने, साबुनपानीले हात धुने लगायतका प्रतिबद्धतासमेत जनाएका छन् ।

Source: https://ujyaaloonline.com (Apr 11, 2014)