पुस १३, २०७८ केदार सिवाकोटी
लखा — रोप्ने बेलामा आलुको बीउ छान्नै एक दिन लाग्थ्यो । त्यसमाथि रोप्ने चटारो । उच्च हिमाली भेगमा पुस पहिलो साताबाटै आलु रोप्नुपर्ने हुन्छ । भीमेश्वर नगरपालिका–८ खानीडाँडामा बनेको ‘रस्टिक आलु भण्डार’ मा स्थानीय जगतमाया श्रेष्ठले पहिलो पटक गएको वर्ष बीउ राखिन् । जसबाट आलुको बीउमा मुना पलाएर खेर जाने समस्या रहेन । बीउ सुरक्षित रहने भएकाले भण्डारमा ल्याएर राख्ने गरेको उनले बताइन् ।
यो भण्डारमा हाल २५ जना किसानले आलुको बीउ राखेका छन् । ‘परम्परागत रूपमा घरमा राख्थ्यौं, मुना पलाएर केलाउनुपर्ने झन्झट थियो,’ उनले भनिन्, ‘यहाँ राखेपछि रोप्ने समय पनि मिल्ने, बीउ कुहिने र खेर जाँदैन ।’ घरमा राखेको आलुको बीउ आधा नष्ट भएर जाने गरेको उनले बताइन् । ‘हिमपात र हिउँदे वर्षा नभई हतारमा आलु रोप्थ्यौं,’ उनले भनिन्, ‘अहिले माघ पहिलो साता आलु रोप्न पर्याप्त समय मिलेको छ ।’
आलुको बीउ भण्डारणका लागि भीमेश्वर नगरपालिकाको लाँकुरी र बोचसहित शैलुङ गाउँपालिकामा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले ६ वटा रस्टिक भण्डार बनाइदिएको छ । ६२ लाखमा बनेका यी नमुना रस्टिक भण्डारमा २ सय बढी किसानले सामूहिक रूपमा आलुको बीउ राख्ने गरेका छन् । घरमा राखेको बीउ आधा नष्ट हुँदा किनेर समेत आलु लगाउने गरेको स्थानीय हर्कबहादुर बाँडाले सुनाए ।
शैलुङ–१ भुषाफेदाकी चन्द्रमाया तामाङले पनि पहिलो पटक सामूहिक रूपमा रस्टिक भण्डारमा आलुको बीउ राखेकी छन् । ‘आलुको बीउ किन्न अन्तै धाउनुपर्थ्यो, तर रस्टिकमा राखेपछि आफ्नै बीउ रोप्न पाएका छौं,’ उनले भनिन्, ‘उत्पादन पनि बढेको छ, समय पनि बचेको छ ।’
उच्च हिमाली क्षेत्रका करिब १० हजार किसान आलु खेतीमा निर्भर छन् । तर बीउ भण्डारण गर्न यस्ता केन्द्र छैनन् । जसका कारण रोप्ने बेला बीउ खोज्दै भौंतारिनुपर्ने बाध्यता छ । आलुको बीउको गुणस्तर र उत्पादकत्व बढाउन रस्टिक भण्डारको अवधारणा ल्याइएको हो । केही पालिकाले यस्ता भण्डार कक्ष निर्माण थालेका छन् ।
-साभार कान्तिपुर दैनिक
प्रकाशित : पुस १३, २०७८ ११:४२