विनोद सापकोटा
गौरीगञ्ज, भदौ ३१

खाद्यवस्तुको मात्र यसअघि राहत पाउने झापाका गौरिगञ्ज र वाह्रदशी गाउँपालिकाका बाढीपीडित परिवारले शुक्रबार अखाद्य वस्तुको राहत सामाग्री पाएका छन्। नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन) ले संयोजन गरेको सो राहत सामाग्री दुई वटा विदेशी संस्थाको प्रत्यक्ष सहभागितामा प्रदान भएको हो ।

क्यानाडाको ग्लोवल मेडिक र वेलायतको मुस्लिम एण्ड नाम गरेको दुई वटा विदेशी गैह्र सरकारी संस्थाले वाह्रदशी र गौरिगञ्ज गाँउपालिकाका बाढीबाट विस्थापित परिवारलाई राहत सामाग्री वितरण गरेको थियो। आरआरएनका पूर्वक्षेत्रिय प्रशासन तथा जिविकोपार्जन अधिकृत दुर्योधन अधिकारीले बाह्रदशीका १७२ र गौरिगञ्जका १२७ परिवारलाई अखाद्य बस्तुको राहत वितरण गरिएको बताए।

जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाईटी झापा शाखा र गौरिगञ्ज र बाह्रदशी गाउँपालिका कार्यलयले पहिचान गरेका बाढीपीडितलाई राहत सामाग्री वितरण गरिएको अधिकारीले बताए।

क्यानाडाबाट ग्लोवल मेडिक संस्थाका ज्याक र केलि आफैंले विस्तापित परिवारलाई राहत वितरण गरेका थिए। यस्तै वेलायतको मुस्लिम एड संस्थाबाट साह्रा आफैं आएर राहत वितरण गरेकी हुन्। ती दुई संस्थाले प्रतिपरिवार ६ हजार मुल्य बराबरको राहत सामाग्री प्रदान गरेका थिए।

नेपालमा बाढीले ठूलो धन जनको क्षति गरेको विदेसी सञ्चार माध्यमले प्रचार गरेपछि हामीले राहत दिन उपर्युक्त ठान्यौं, ग्लोवल मेडिकका प्रतिनिधि ज्याकले भने यो सामाग्री क्षतिको हिंसाले नगन्य देखिए पनि पछिल्ला दिनमा हामिलाई थप राहत लिएर आउन सजिलो होस भनेर हामी आफैं आएका हौं, उनले भने यो कोशेली मात्र हो।

बाह्रवर्ष देखि विपत क्षेत्रमा काम गर्दे आएको हाम्रो संस्थाले नेपालमा यस अघि भूकम्प पीडितलाई पनि राहत र पुर्नस्थापनाका लागि कार्यक्रम ल्याएको थियो, अर्कि केलिले भनिन् ‘हामीले ल्याएको राहत थापेर खुसी देखिएका विस्थापित परिवारले हाम्रो लगानि सहि ठाँउमा सदुपयोग गर्नेमा हामी विस्वस्थ छौ ।’ वेलायतकी मुस्लिम एड की प्रतिनिधि साह्राले नेपालमा परेको दुःख वेलायतका गैह्र सरकारी संस्थाले त्यतिकै हेरेर नबसेको सुनाईन। उनले भनिन्, ‘हामीले झापा, मोरङ, सप्तरी, बाँके लगायतका जिल्लामा राहत वितरण गरेर विस्थापित भए पछि पीडितको वास्तविक भोगाई नजिकबाट हेरिरहेका छौ। उनले बाढीबाट विस्तापित भएका परिवारलाई धैर्य गर्न समेत आग्रह गरिन्।

नेपाल ग्रामिण पुर्ननिर्माण संस्थाले ती दुई विदेशि दाता संस्थालाई झापा र मोरङको वाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन भ्रमण पनि गराएको  छ। त्यस संगै उनीहरूले झापाका ३०० र मोरङका २०० परिवारलाई राहत वितरण गरेको नेपाल ग्रामिण पुर्ननिर्माण संस्थाका पुर्वाञ्चल संयोजक राम ढुंगानाले बताए। उनले भने, ‘राहत र पुर्नस्थापनाका लागि आरआरएन जहिल्यै पनि तयार छ । ’

नेपाल सरकारले पूर्ण विस्थापित परिवारको पहिचान गरेर ठहर्‍याईएका वास्तविक पीडितलाई राहत वितरण गरिएको उनले पनि दोहोर्याए। कोहि नछुटुन् र कोही नदोहोरिउन् भन्ने हाम्रो मान्यता हो उनले भने जस्ले पाए वास्तकि पीडितले पाए ।

विदेसी दाताले प्रतिपरिवार २ वटा व्ल्याँकेट, प्लास्टिकको गुन्द्री २, स्टीलका थाल २ , डाडु पुन्यु १/१, २० लिटरको वाल्टी १, २ लिटरको जग १, सुपानेट झुट २, स्टीलको कराई १, स्टीलको खाना पकाउने भाडा १ र पानी शुद्धीकरण गर्ने ट्याव्टेट ९० का दरले प्रदान गरेका थिए।

बाह्रदसी गाउँपालिका १ की फुलमाया खातुनले पहिलो पटक जिन्सी राहत आफूले पाएको बताईन्। ‘सवैले खाद्यन्न सामाग्री लिएर आउनुहुन्थ्यो तर विदेसी संस्थाले अखाद्य वस्तुको राहत दिएर ठूलो सहयोग गर्‍यो,’ उनले भनिन्। उनका अनुसार विरीङ नदिले उनका भाडा वर्तन, लत्ता कपडा सवै वगाएको थियो।

यता सोही गाँउपालिका ७ का मुनिराम हेमरमले बाढी र डुवानबाट आफ्नो घर कामै नलाग्ने गरि भत्किएिको बताए । उनले भने, ‘नगदै देउ भनेर माग्ने कुरा भएन तर पुर्नस्थापनका लागि घर निर्माण र मर्मत अति आवस्यक छ,’ उनले घुमाउरो शैलीमा भने, ‘खाद्यन्न , जिन्सी भन्दा नगद राहत भए दसै, तिहार र छठ पर्वमा पाउना राख्ने घर हुने थियो।’

वाह्रदसीको राहत वितरण कार्यक्रम सो गाउँपालिकाका कार्यकारी अधिकृत तुलसी नेपालले गरेका थिए ।

यता गौरिगञ्ज गाउँपालिकामा सांसद दिपक कार्की , सो गाउँपालिकाका अध्यक्ष वाबुराजा श्रेष्ठ लगायतले आरआरएनको गुन गौरिगञ्ज गाउँपालिकाको लागि ऋण सरह भएको बताए।

Source: https://setopati.com (शनिबार, भदौ ३१, २०७४)