- कान्तिपुर संवाददाता , बझाङ
 
भाद्र १५, २०७४- गत असार २५ गते पहिरोले विद्यालय बगाएपछि पठनपाठनै अवरुद्ध भएको दुर्गा भवानी उच्चमाविलाई राहत सामग्री दिइएको छ । पहिरोमा परी विद्यालयका ५ वटा भवन बग्दा यहाँका ७ सय विद्यार्थीको पढाइ २ महिनादेखि प्रभावित बनेको हो ।
 
पठनपाठन सुचारु गर्न सहयोग होस भन्ने उद्देश्यले जिल्लामा कार्यरत गैरसरकारी संस्था ग्रामीण पुनर्निर्माण तथा पुन:स्थापना (आरआरएन) ले उपलब्ध गराएको राहत प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले हस्तान्तरण गरेका हुन् ।
 
संस्थाले विद्यालयलाई ५ वटा त्रिपाल, १२ डेस्क, १२ बेन्च, २४ कुर्सी, १ दराज र ५ वटा अफिस टेबल उपलब्ध गराएको आरआरएन जिल्ला संयोजक भीम महरले बताए । राहत सामग्रीको मूल्य करिब १ लाख ७० हजार बराबरको छ ।
 
पहिरोले जिल्लाको दक्षिणी भेगको उक्त विद्यालयको ५ वटा भवन बगाएको थियो । ५ भवनका २२ कोठामा रहेको कम्प्युटर कक्ष, कार्यालय, स्टाफ कोठा, छात्रावास र विद्यार्थी अध्ययन गर्ने सबैका मालसामानसमेत बगेपछि पठनपाठनमा समस्या हुँदै आएको निमित्त प्रमुख सहदेव बोहराले बताए । उनले भने, ‘स्थानीयका केही घर भाडामा लिएर पढाइ सुचारु गर्ने प्रयास गरिहेका छांै । विद्यार्थी संख्या धेरै भएकाले सम्भव हुन सकिरहेको छैन । पानी परेका बेला त्रिपाल पनि नभएकाले झन् समस्या भएको हो । 

Source: kantipur.ekantipur.com (2017-08-31)