श्रावण १०, २०७२-महको बजार अभाव नभएको र मौरी गोलाको समेत अत्यधिक माग रहेकाले यहाँका किसानले अन्य पेसा व्यवसायसँगै मौरी पालन व्यवसायलाई अगाडि बढाएका हुन् । गत वर्ष सरकारले देशका ६५ जिल्लामा एकै पटक युवा लक्षित कार्यक्रम अन्तर्गत मौरी पालन व्यवसायमा ठूलो रकम लगानी गर्यो । तर तेह्रथुमलाई मौरी पालनका लागि सरकारले छनोट गरेन ।

सरकारी सहयोगबिनै मौरी पालन व्यवसाय गरिरहेका किसान सरकारी सहयोग लिएका जिल्लाका किसानको भन्दा राम्रो गरेर देखाउने भन्दै लगानी बढाइरहेका छन् । मौरी पालनमा धेरै सम्भावना हुँदाहुँदै पनि सरकारले आफूहरूलाई उपेक्षा गरेको फुलेक गाविसका मौरी पालक किसान चन्द्रप्रसाद राईले बताए । मौरी पालन व्यवसायमा सरकारी सहयोगको खाँचो रहेको उनले बताए ।

मौरी पालन व्यवसायमा किसानको उत्साह, मेहेनत र लगानी देखेर जिल्लामा काम गरिरहेको नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) र बहुसरोकारवाला वन कार्यक्रम (एमएसएफपी) ले वसन्तपुर र फुलेक गाविसका मौरी पालक किसानलाई मौरी गोला र मौरी जन्य उपकरण वितरण गरेर व्यावसायिक मौरी पालनको अभियानै चलाएको छ ।

यी दुई गाविसका ३० भन्दा बढी मौरी पालक किसान छनोट गरी उनीहरूको समेत न्यून लागत सहभागितामा करिब ६ लाख रुपैयाँ बराबरको मौरी गोला र मौरीजन्य उपकरण वितरण गरिएको आरआरएनका जिल्ला संयोजक सुमित गौतमले बताए । वसन्तपुरमा रहेको साना किसाना कृषि सहकारी संस्थामार्फत वितरण गरिएको यस कार्यक्रमबाट २५ जनाभन्दा बढी किसानले रोजगारी पाएका छन् । मौरी पालक किसानलाई तालिम, क्षमता विकास र मौरी पालन गर्दा आइपर्ने समस्याका बारेमा सहकारी संस्थाले समयसमयमा तालिम तथा प्रशिक्षण दिंदै आएको संस्थाका अध्यक्ष चित्रबहादुर कार्कीले बताए ।

सेरेना जातका मौरी पालनका लागि उपर्युक्त हावापानी, भौगोलिक वातावरण र चरन रहेकाले जिल्लामा मौरी पालन व्यवसायको प्रचुर सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले बताए । कार्यालयका अनुसार जिल्लामा मुढे, खोपे, अन्य परम्परागत र आधुनिक घारमा समेत गरी १५ हजारभन्दा बढी मौरी गोला किसानले पालेका छन् । यो व्यवसायबाट ५ हजारभन्दा बढी किसानले प्रत्यक्ष रोजगारी पाएको कार्यालयले जनाएको छ । कार्यालयले सोल्मा, मोराहाङ र ओयाक्जुङ गाविसलाई मौरी पालन पकेट क्षेत्रको रूपमा छनोट गरी मौरी गोला उत्पादन गरिरहेको जनाएको छ ।

मौरी पालन व्यवसायलाई आधुनिकीकरण गरी किसानलाई आय आर्जनको बाटोतर्फ डोर्याउन कार्यालयले समेत लगानी गरिरहेको जनाएको छ । कृषि विकास कार्यालयले किसानलाई छुट मूल्यमा मौरी गोला, घार तथा अन्य मौरीजन्य उपकरणसमेत वितरण गरिरहेको कार्यालय प्रमुख यादवले बताए ।

प्रकाशित: श्रावण १०, २०७२

Source: www.kantipur.ekantipur.com (2015-07-26)